काठमाडौं, ३ असार- अमेरिका र अस्ट्रेलियाबाट आयात गरिएका बोयर जातका बोकाबाट स्थानीय जातका बाख्रामा गर्भाधान गराउन थालिएको छ । उतैबाट ल्याइएको वीर्यबाट समेत स्थानीय जातका बाख्रामा धमाधम कृत्रिम गर्भाधान गराउन थालिएको छ । नेपाली बाख्राको नश्ल सुधार र दूध दिने क्षमता वृद्धि गर्न कृषि विकास मन्त्रालयले गत पुसमा बोका र पाठी आयात गरेको थियो । अस्ट्रेलियाबाट मासुका लागि प्रख्यात बोयर जातका ४० पाठी र ३९ बोका तथा अमेरिकाबाट दूधका लागि प्रख्यात सानन जातका ३० पाठी र २० बोका आयात गरिएको थियो । आयातीत बोका–पाठी सरकारका विभिन्न पशु प्रजनन केन्द्र र बाख्रा विकास फार्ममा राखिएका छन् । केही बोका–पाठी किसानलाई वितरण गरिएको छ ।
नश्ल सुधार गर्न ल्याइएका बोयर जातका बोका
दैलेख, डोटी र सुर्खेतका जिल्ला पशु सेवा कार्यालयले किसानलाई उन्नत जातका बोका हस्तान्तरण गरिसकेका छन् । ३१ बोयर जातका बोकाले दुई सय पाँच बाख्रीमा गर्भाधान गराएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार दैलेखमा वितरित ६ वटा बोयर बोकाले स्थानीय जातका ७७ बाख्रीमा गर्भाधान गराएका छन् । सुर्खेतमा १० बोयर बोकाबाट ६०, डोटीमा आठ बोयर बोकाबाट स्थानीय २० बाख्रीमा गर्भाधान गराइएको छ । त्यस्तै, क्षेत्रीय कृषि अनुसन्धान केन्द्र नेपालगन्जमा राखिएका दुई बोयर बोकाबाट १७ स्थानीय बाख्रीमा गर्भाधान गराइएको छ ।
‘किसानलाई वितरण गरिएका २६ बोयर बोकाबाट हालसम्म एक सय ७४ स्थानीय पाठीमा गर्भाधान गराइएको छ,’ मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले जानकारी दिए । अन्य पाँच बोयर बोकाले ३१ बोयर पाठीमा समेत गर्भाधान गराएको उनले बताए । ‘हामीले बोयर जातका बोका–पाठीलाई एकआपसमा नै गर्भाधान पनि गराएका छौँ,’ उनले भने, ‘त्यसक्रममा पाँच बोयरले ३१ बोयरमा गर्भाधान गराएका छन् ।’
अस्ट्रेलियाबाटै आयात गरिएको वीर्यबाट एक सय १८ स्थानीय बाख्रीमा कृत्रिम गर्भाधान गराइएको पनि प्रवक्ता ठाकुरले जानकारी दिए । ‘जमेको वीर्यबाट दैलेखमा ११, डोटीमा ४०, सुर्खेतमा ४०, सल्यानमा एक, बन्दीपुरमा ९२ स्थानीय पाठीमा कृत्रिम गर्भाधान गराइएको छ,’ उनले भने ।
जिउमा धेरै मासु लाग्ने बोयर जातका बोकाबाट धेरैभन्दा धेरै स्थानीय जातका पाठीमा गर्भाधान गराई उच्च नश्लका बोका–पाठी उत्पादन गराउने सरकारको लक्ष्य छ । ‘बोयर जातको बोकाबाट गर्भाधान गराएर जन्मिएका बोका, पाठीमा बोयरको गुण हुन्छ,’ प्रवक्ता ठाकुरले भने, ‘त्यसैले यस्ता बोकाबाट स्थानीय जातमा धेरै गर्भाधान गराएर मासु धेरै पाउन सक्ने बोका तथा बाख्रा नेपालमै उत्पादन गर्ने लक्ष्य हो ।’
मन्त्रालयले बोयर पाठी सरकारी पशु प्रजनन केन्द्रमा राखेको छ । ती पाठीबाट जन्मिएका बोका–पाठी भने किसानलाई वितरण गरिने ठाकुरले बताए । ‘किसानले पाएका बोयर बोका–पाठीबाट जन्मेका सन्तानमा पनि बोयरको गुण हुन्छ । धेरैभन्दा धेरै किसानमा बोयर पुर्याएर मासु उत्पादन बढाउन खोजिएको छ ।’
सामान्यत: बोयरको जिउ सेतो र टाउको खैरो रङको भुत्लाले छोपेको हुन्छ । बोयर जातका पाठापाठीमा छिटो बढ्न सक्ने विशेषता हुन्छ ।
दैनिक चार लिटर दूध दिने पाठी जन्मिए
अमेरिकाबाट प्रतिगोटा दुई लाख रुपैयाँका दरले खरिद गरी ल्याइएका सानन जातका बाख्रा ब्याउन थालेका छन् । सानन जातका बाख्राले दैनिक चार लिटरसम्म दूध दिन्छन् ।
कृषि विकास मन्त्रालयले ३० सानन पाठी आयात गरी कृषि अनुसन्धान केन्द्र बन्दीपुरमा २० र बाख्रा विकास फार्म चित्लाङमा १० पाठी राखेको थियो । त्यसमध्ये बन्दीपुरमा तीन पाठा र दुई पाठी तथा चित्लाङमा दुई पाठा र दुई पाठी जन्मिएका छन् ।
दूध धेरै दिने सानन जातका बाख्रा
‘सानन जातका बाख्राले नौ नयाँ पाठा–पाठी जन्माएका छन्,’ मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरले भने । उनका अनुसार नयाँ पाठा–पाठी किसानलाई हस्तान्तरण गरिनेछ ।
सानन बाख्राको दूध पोषणयुक्त हुने मन्त्रालयका उपसचिव शंकर सापकोटाले बताए । धेरै दूध दिने सानन जातका बाख्राको दूध पोषणयुक्त खानेकुरा कम भएका गाविसका बालबच्चा, गर्भवती महिलालगायतलाई उपभोगका लागि उपलब्ध गराउने उद्देश्यले आयात गरिएको पनि सापकोटाको भनाइ छ । ‘बाख्राको दूध धेरै पोसिलो हुन्छ,’ सापकोटाले भने, ‘अझ भर्खरै जन्मिएको बच्चा र आमालाई खुवाउँदा धेरै राम्रो हुने पाइएको छ ।’
अमेरिकन डेरी गट एसोसिएनमार्फत मन्त्रालयले पाठा–पाठी ल्याएको हो । साना किसानले दूधका लागि गाई, भैँसी पाल्न नसक्ने देखेर सरकारले दुधालु सानन बाख्रा आयात गरी किसानलाई वितरण गर्ने योजना बनाएको छ । अहिलेसम्म डडेल्धुराका चार किसानलाई सानन पाठी हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ ।
‘साना किसानले दूधका लागि गाई किनेर पाल्न सक्दैनन्,’ मन्त्रालयका प्रवक्ता ठाकुरले भने, ‘तर, बाख्रा पाल्न गाह्रो छैन । त्यसैले साना किसानलाई दूध खुवाउनकै लागि अमेरिकाबाट पाठापाठी ल्याएका हौँ ।’ फ्रान्सबाट सानन बोकाको जमेको वीर्य आयात गरी स्थानीय ३६ पाठीमा गर्भाधान गराएको पनि मन्त्रालयले जनाएको छ ।
साभार: नयाँ पत्रिका
- अस्ट्रेलियाबाट आयात गरिएका बोयर जातका बोकाबारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
- अमेरिकाबाट ल्याइएका सानन जातका बाख्राबारे जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।
0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ ।
धन्यवाद !