वालिङ नगरपालिका–१० पेखुठानाका कृषक मेघनाथ पौडेल व्यावसायिक रूपमा बाख्रापालनबाट वार्षिक ६ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएका छन् । विसं २०६३ मा १० हजार रुपैयाँमा एउटा बयर जातको बोका र एक हजार ६ सय रुपैयाँमा बाख्राको पाठी खरिद गरी बाख्रापालन सुरु गरेका पौडेलसँग हाल ३२ वटा बाख्रा रहेका छन् ।
पौडेलको सफलता देखेपछि सो गाउँमा रहेका ७० घर परिवार व्यावसायिक बाख्रापालनमा लागेका छन् । ‘जिल्ला पशु सेवा कार्यालयका प्राविधिकको सल्लाहअनुसार बयर जातको बोका ल्याएर व्यवसाय सुरु गरेको थिएँ’ कृषक पौडेलले भने, ‘यो प्रविधि सफल भएपछि अहिले हामी बाख्राको मासुभन्दा पनि बीउ उत्पादनतर्फ लागेका छौंँ ।’ परीक्षणकै रूपमा ल्याइएको बयर जातको बोका पेखु गाउँमा निकै सफल देखियो, पशु सेवा केन्द्र वालिङका पशु प्राविधिक सुशील अर्यालले भने, ‘यहाँ सफल भएपछि अहिले बीउ उत्पादनका लागि केन्द्र नै बनाएर लागिपरेका छौँ ।’
जिल्ला पशु सेवा कार्यालयले विशेष प्राविधिक टोली नै खटाएर पेखु गाउँमा झन्डै ४ सय वटा स्थानीय खरी जातको बाख्रामा बयर क्रस गरेर बीउ उत्पादन गरिएको प्राविधिक अर्यालले बताए । ‘किसानको घरमा गरिने यो प्रविधिको फाइदा पूरै किसानले पाएका छन् ।’ प्राविधिक अर्यालले भने, ‘बयर जातको बोकाबाट क्रस गरेर निकालिएको बयर बोकाको प्रतिकेजी एक हजार र पाठीको प्रतिकेजी एक हजार ५० रुपैयाँ प्रतिकिलोका दरले बिक्री गरिएको छ । बयर जातको बाख्रा ६ महिनामा ४० किलोसम्म वृद्धि हुने अर्यालले बताए । उहाँले भने, ‘बयर जातको बोकाको मासु बोसो कम हुने, कसिलो र धेरै तौल हुने भएकाले किसानले छोटो समयमा धेरै आम्दानी पाउँछन् ।’पेखुलाई व्यावसायिक बीउ उत्पादन केन्द्रका रूपमा विकास गरिएपछि किसानहरू अन्य पेसा छोडेर व्यावसायिक बाख्रापालनमा लागेका छन् ।
त्यस्तैगरी जिल्लाको साँखर, पिढीखोला, मट्टिखान, पञ्चमूल गाविसमा पनि युवाको नेतृत्वमा बाख्रापालन समूह गठन गरेर किसानलाई व्यावसायिक बाख्रापालनतर्फ सक्रिय बनाइएको पशु सेवा कार्यालयले जनाएको छ । ‘विशेषगरी युवावर्गलाई वैदेशिक रोजगारमा जान निरुत्साहित पार्नका लागि युवाकै नेतृत्वमा समूह निर्माण गराएका छौँ’ प्राविधिक अर्यालले भने, ‘उनीहरूको समूहलाई बेलाबेलामा तालिम तथा प्रशिक्षण दिने र पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने गरेका छौँ ।’ जिल्ला पशु सेवा कार्यालय स्याङ्जाका अनुसार जिल्लाका कालीगण्डकी किनारका क्षेत्रहरू विर्घा, चण्डीभञ्ज्याङ, आलमदेवी, तुलसीभञ्ज्याङ, पकवादी, कुवाकोट, चापाकोट, रत्नपुर, सेखाम, साँखरलगायतका क्षेत्रमा जमुनापारि क्रस र जिल्लाका अन्य ठाउँमा बारबेरी र स्थानीय खरी जातको बाख्रा पाल्ने गरिएको छ ।