यदि तपाईलाई र अरुलाई पनि भविष्यमा काम लाग्ने त्यस्तो केहि सुचना मूलक जानकारी छ भने त्यसको लिंक हाम्रो Facebook Page वा einfonewsnpl@gmail.com मा पठाउनुहोला त्यसलाई हाम्रो यो Web Site मा समावेस गर्नेछौ । धन्यवाद !
Home » , » युवाले सुरु गरे सामूहिक गाईपालन

युवाले सुरु गरे सामूहिक गाईपालन

झापाको कनकाई नगरपालिका सुरुंगाका युवाले सामूहिक गाईपालन गरेर राम्रो आर्थिक उपार्जन गरिरहेका छन् । १० जना युवा मिलेर गाईपालन सुरु गरेका युवा मासिक १ लाख रुपैयाँसम्म आम्दानी गर्छन् । 
स्वदेशमै रोजगारी सिर्जना गर्ने, युवा उद्यमशिलता प्रवद्र्धन गर्ने र युवा आत्मनिर्भर बन्नुपर्ने सोचका साथ गाईपालन सुरु गरिएको उनीहरूको भनाइ छ ।
स्थानीय लीलाप्रसाद चिमरिया, राजकुमार कट्टेल, पुण्य ओझा, हरिन्द्र कार्की, डीपी गौतम, साजन थापा, विवेक शिवाकोटी, जगतनारायण मण्डल, झलक सिटौला र कमल सिटौला मिलेर व्यवसाय अघि बढाएका हुन् । टिममा बेलायत, दुबई तथा मलेसियाबाट फर्केका, एमबीए गरेका, पशु चिकित्सकलगायत छन् ।
२ वर्षअघि लीलाप्रसाद, हरिन्द्रलगायतले २४ वटा गाईबाट सुरु गरेको व्यवसाय अहिले लगानी र उत्पादन दुवै हिसाबले विस्तारित भएको छ । फार्मलाई सूर्योदय कृषि तथा पशुपन्छी फार्म दर्ता गरी व्यवस्थित गरिएको छ ।
फार्ममा अहिले साना–ठूला गरी विकसित प्रजातिका ६४ वटा गाई छन् । फार्मबाट दैनिक २ सय लिटर दूध उत्पादन हुँदै आएको छ । २० गाईले दूध दिइरहेका छन् भने त्यति नै संख्यामा गाई ब्याउने अवस्थामा छन् ।
पूर्व–पश्चिम राजमार्गदेखि करिब २ किलोमिटर उत्तर कनकाई नगरपालिका–२ मा फार्म सञ्चालन गरिएको छ भने गाई फार्मका लागि साढे ३ विगाहा जमिन भाडामा लिई घाँसखेती पनि गरिएको छ ।
दूध बिक्रीबाट फार्म सञ्चालन खर्च निस्किने गरेको र बाच्छाबाच्छीको कमाइ नाफा हुने भएकाले सबै खर्च कटाई मासिक १ लाख रुपैयाँ बचत हुने समूहका सदस्य पुण्य ओझाले बताए । उत्पादित दूध फार्मबाटै बिक्री भइरहेकाले बजारको समस्या छैन ।
गाईपालन समूहको नेतृत्व गरिरहेका चिमरिया कृषिलाई सम्मानित पेसाको रूपमा स्थापित गरी युवा आत्मनिर्भर बन्न सामूहिक गाईपालनले सहयोग पु¥याउनेमा आशावादी छन् । फार्ममा युवाहरू आफैं खट्छन् । ५० लाख रुपैयाँभन्दा बढी लगानीमा सुरु भएको फार्मले ५ जनालाई रोजगारी पनि दिएको छ ।
साभार : कारोबार