यदि तपाईलाई र अरुलाई पनि भविष्यमा काम लाग्ने त्यस्तो केहि सुचना मूलक जानकारी छ भने त्यसको लिंक हाम्रो Facebook Page वा einfonewsnpl@gmail.com मा पठाउनुहोला त्यसलाई हाम्रो यो Web Site मा समावेस गर्नेछौ । धन्यवाद !
Home » , » फालिएका प्लास्टिक नजान्दा फोहोर, जान्दा मोहोर

फालिएका प्लास्टिक नजान्दा फोहोर, जान्दा मोहोर

सानैमा भारत छिरेका तिलक बस्ताकोटीले १७ वर्षसम्म प्लास्टिक सामान बनाउने कारखानामा काम गरे। कलकत्ताको त्यही अनुभव उनलाई आफ्नो पेसामा अब्बल हुने आधार बन्यो। विदेशको लामो अनुभवलाई स्वदेशमै प्रयोग गर्दै उनले २०५० सालमा चितवनमा तिलक इन्जिनियरिङ वर्क्स नामबाट काम सुरु गर्दा कसैले पत्याएनन्। काठमाडौंको भृकुटीमण्डपमा उनले
नागरिकसँग आफ्नो ब्यथा सुनाउँदै गर्दा अर्कोतर्फ उनको सफलताको चर्चा भइरहेको थियो।
शुक्रबार भृकुटीमण्डपमा सुरु भएको प्लास्ट नेपाल २०१४ मा उनले आफैं बनाएको प्लास्टिक प्रशोधन गर्ने मेसिन प्रदर्शनीमा राखेका छन्। पुराना दिन सम्झँदै बस्ताकोटीले भने, ‘म कहिल्यै स्कुल नगएको मान्छे। मेसिन बनाउँछु भन्दा सबै हाँस्थे।' 
हेर्न आएका दर्शकलाई उनले सम्झाइरहेका थिए, ‘प्लास्टिक झोला फोहोर होइन, मोहोर हो।' फालिएका प्लास्टिकका झोला, बोरा र अन्य वस्तुबाट उनलेे दैनिक जीवनमा प्रयोग हुने विभिन्न वस्तु बनाइरहेका छन्। प्रर्दशनीमै उनले घर ढलान, वाइरिङमा प्रयोग हुने कालो पाइप बनाएर देखाइदिए।
‘फालिएका प्लास्टिकबाट नयाँ सामान बनाउन सकिन्छ,' बस्ताकोटीले भने, ‘मैले हरेक गृहिणीलाई आफूले प्रयोग गरेको झोला संकलन गरेर बेच्न भनेको छु।'
फालिएका झोलाबाट नयाँ सामान बनाउन उनले विभिन्न खालका मेसिन प्रयोग गरेका छन्। पहिलो मेसिनले फालिएका झोलालाई पेलेर धुलो बनाउँछ। त्यो धुलोबाट प्लास्टिक दाना बनाउने अर्को मेसिन छ। तेर्स्रो मेसिनले दानाबाट सामान बनाउँछ।
यत्रतत्र फालिएका प्लास्टिकका झोला र अन्य सामग्रीलाई कवाडीले किलोको १५ रुपैयाँ जतिमा किन्छन्। बस्ताकोटी जस्ता व्यवसायीले ४० देखि ५० रुपैयाँसम्म तिर्छन्। प्लास्टिकका बोरा २० रुपैयाँ किलोमा बिक्री हुन्छ। ती बोरालाई प्रशोधन गरेर प्लास्टिकका डोरी, दाम्लो, नाम्लो बनाउन प्रयोग हुने बास्टाकोटीले बताए।
‘यो प्लान्टमा १२ वटा मेसिन प्रयोग भएका छन्,' बस्ताकोटीले चलिरहेको मेसिन देखाउँदै भने, ‘यसले प्लास्टिक प्रशोधनदेखि नयाँ सामग्री उत्पादनसम्म गर्छ।'
ती मेसिन पनि बस्ताकोटीनै बनाएका हुन्। १७ वर्ष भारतको कलकत्तामा काम गर्दाको अनुभव हो यो। ‘मैले औपचारिक अध्ययन कहिल्यै गरिनँ,' बस्ताकोटीले भने, ‘काम गर्दाको अनुभवले नै मैले मेसिन बनाउन सकेको हुँ।' प्लान्टको मूल्य २७ लाख रुपैयाँ पर्ने उनले जानकारी दिए। 

यस्ता मेसिन बनाएर उनले बेच्ने गरेका छन्। नेपालमा हाल सञ्चालनमा रहेका प्लास्टिक प्रशोधन गर्ने ४० प्रतिशत मेसिन बनाएको उनी दाबी गर्छन्। ‘मैले अहिलेसम्म सयभन्दा धेरै मेसिन बेचिसकँे,' उनले भने, ‘चितवन, काठमाडौंदेखि धेरै ठाउँमा मैले बनाएका मेसिन प्रयोग भइरहेका छन्।' उनी ४५ हजारदेखि १७ लाख रुपैयाँसम्म मूल्य पर्ने मेसिन बनाउँछन्। उनले प्लास्टिकलाई धुलो बनाउने, दाना, पाइप, डोरी, जर्किन बनाउने, एग्रो मिस्क्चर जस्ता मेसिन बनाउने गरेका छन्।
व्यवसाय सुरु गर्दा ‘मेसिन बनाउँछु, प्लास्टिकका सामान उत्पादन गर्छु' भन्दा कसैले नपत्याउँदा दुःख पाएको उनले बताए। भारतमा बस्दा प्लास्टिकका विभिन्न सामान आफैं बनाएको अनुभव उनीसँग थियो। त्यही अनुभवका आधारमा बनाएको मेसिनबाट आफैंले उत्पादन थाले। उनको व्यवसायले वाहवाही पायो।
अहिले उनका मेसिन चितवनमा १० वटा जति चलिरहेका छन्। विराटनगर, बुटवल, काठमाडौंमा पनि छन्। तर जति हुनुपर्ने हो त्यति नभएको उनको भनाइ छ। नेपालको प्रत्येक सहरमा यस्ता मेसिन स्थापना सके वातावरणमा पर्ने असर रोक्न सकिने बस्ताकोटी बताउँछन्। ‘काठमाडौं उपत्यकामा प्लास्टिक झोलाले फोहोर भयो, समस्या भयो भनिन्छ,' बस्ताकोटी भन्छन्, ‘तर त्यसलाई व्यवस्थापन गर्न पहल गरिँदैन।' यी मेसिन राखेर प्लास्टिक प्रशोधन गर्ने हो भने काठमाडौं सफा राख्न सकिने उनले बताए।
चितवनमै ओली प्लास्टिक उद्योग चलाइरहेका मुराहरिप्रसाद ओली जताततै छरिएर रहेका प्लास्टिकका झोलाबाट बन्ने सामानले वातावरण जोगाउन सकिने बताउँछन। उनका अनुसार अहिले दैनिक २० टन जति प्लास्टिकका सामान प्रयोग हुन्छ। बस्ताकोटीले नै बनाएको मेसिनले दैनिक ५–६ टनसम्म प्रशोधन गर्न सक्छ। उनका अनुसार भारतमा प्लास्टिक प्रशोधन गर्ने उच्चस्तरका मेसिन छन्। सरकारले ती मेसिन ल्याउन भन्सार लगायतका सहुलियत दिनुपर्ने बस्ताकोटीले सुझाए। 

यो एक व्यवसाय मात्र नभएर वातावरणप्रतिको जिम्मेवारी पनि भएको ओलीको भनाइ छ। ‘त्यसैले सरकारले सहयोग गर्नुपर्छ,' उनले भने, ‘अर्थ्मन्त्रीले यहीँ आएर सहयोग गर्छु भन्नुभएको छ।' उनले कुखुराको विशेष प्रकारको दाना–पानी खुवाउने अटो फिडर, ड्रिंकर, सपिङ ब्याग, एडी सिट, बाटा, बाल्टिन, जग, मग जस्ता विभिन्न सामग्री फालिएका प्लास्टिक प्रयोग गरेर बनाउँछन्।
प्लास्ट नेपालमा प्लास्टिकसम्बन्धी विभिन्न सामग्री र प्रविधि प्रदर्शनीमा राखिएको छ। आइतबारसम्म चल्ने प्रदर्शनीमा एक सय ३४ स्टल छन्। प्लास्ट नेपाल फाउन्डेसनले आयोजना गरेको प्रदर्शनीमा व्यवसायीको निकै उत्साहजनक सहभागिता रहेको फाउन्डेसन अध्यक्ष शरदकुमार टिबडेवालाले बताए। उनका अनुसार पहिलो दिन साढे चार हजार र दास्रो दिन ६ हजार व्यवसायीले अवलोकन गरेका छन्। विदेशबाट पनि सहभागिता रहेको उनले बताए।
साभार : नागरिक न्युज