यदि तपाईलाई र अरुलाई पनि भविष्यमा काम लाग्ने त्यस्तो केहि सुचना मूलक जानकारी छ भने त्यसको लिंक हाम्रो Facebook Page वा einfonewsnpl@gmail.com मा पठाउनुहोला त्यसलाई हाम्रो यो Web Site मा समावेस गर्नेछौ । धन्यवाद !
Home » » नेपाली वैज्ञानिकलाई अमेरिकामा दुर्लभ सफलता

नेपाली वैज्ञानिकलाई अमेरिकामा दुर्लभ सफलता

अमेरिकाको वाणिज्य मन्त्रालयले एक नेपाली वैज्ञानिकलाई 'व्यापारिक तथा सैन्य प्रयोगका लागि बिनापाइलट उड्ने जहाज' आविष्कारको पेटेन्ट अधिकार दिने निर्णय गरेको छ। राजधानीको चावहिलमा बस्दै आएका मोरङ विराटनगर–५, बरगाछीका ४३ वर्षे रुचितकुमार रेग्मीले यस्तो अधिकार पाएका हुन् ।
उनको आविष्कार 'पाइलटलेस एयरक्राफ्ट फर कमर्सियल एन्ड मिलिटरी युज' का लागि अमेरिकी वाणिज्य मन्त्रालय अन्तर्गतको पेटेन्ट तथा ट्रेडमार्क कार्यालयले माघ २० मा पेटेन्ट अधिकार दिने निर्णय गरेको हो ।
संसारकै सबैभन्दा प्रतिष्ठित र पेटेन्ट अधिकार लिन गाह्रो मानिने अमेरिकी सरकारको पेटेन्ट तथा ट्रेडमार्क कार्यालयले रेग्मीलाई उनको आविष्कार जाँच गरेपछि पेटेन्ट जारी गर्ने निर्णय गरिएको र यसमा कसैको पनि दाबी–विरोध नलाग्ने बेहोराको पत्र पठाएको छ । रेग्मीले उपलब्ध गराएको उक्त पत्रमा उनलाई आफ्नो आविष्कारको पेटेन्ट अधिकार प्रमाणपत्र लिन तीन महिना म्याद दिइएको छ ।

रेग्मीले तीन महिनाभित्र तोकिएको शुल्क बुझाएर आफ्नो अधिकार सुरक्षित गरिसक्नुपर्छ । सबै शुल्क बुझाएपछि उनले आगामी २० वर्षका लागि उक्त अधिकार पाउनेछन् । 'अहिले मेरो आविष्कारको पेटेन्ट अधिकार पाउन मैले १५ हजार अमेरिकी डलर (१५ लाख रुपैयाँ) खर्च गर्नुपर्छ,' रेग्मीले भने, 'तीन महिनाभित्र त्यत्रो ठूलो रकम व्यवस्था गर्ने अवस्था मेरो छैन । सरकारबाट सहयोगको अपेक्षा गरेको छु ।'

रेग्मीले तीन वर्षअघि यही आविष्कारको पेटेन्ट अधिकार लिन अमेरिकी पेटन्ट कार्यालयको दुईवटा परीक्षा उत्तीर्ण गरेको समाचार प्रकाशित भएपछि २०६८ जेठ अन्तिम साता तत्कालीन मन्त्रिपरिषदले उनलाई २० लाख रुपैयाँ सहयोग दिने निर्णय गरेको थियो । उनको आविष्कारबारे विज्ञान तथा प्रविधि मन्त्रालयका उच्च अधिकारीहरू विश्वस्त भएपछि उनलाई आर्थिक सहयोग गरिदिन अर्थ मन्त्रालय हुँदै मन्त्रिपरिषदमा सिफारिस पुगेको थियो ।
त्यसबेला नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले यही आविष्कारबारे आयोजना गरेको छलफलमा रेग्मीले 'जिपिएसबाट जहाज उड्छ' भन्दा पुल्चोक इन्जिनियरिङ क्याम्पसको कम्प्युटर इन्जिनियरिङ विभागका प्राध्यापक सचितराम जोशीले 'जिपिएस मेरो खल्तीमै छ' भन्दै बेइज्जत गरेको उनी सम्भि्न्छन् । त्यसपछि उनी विज्ञान मन्त्रालय पुगेका थिए ।

'सरकारले देशको इज्जत, प्रतिष्ठा बढाउन नौला काम गर्नेलाई सहयोग गर्नुपर्छ भनेर हामीले रेग्मीलाई सहयोगस्वरूप २० लाख दिन मन्त्रिपरिषदमा प्रस्ताव लगेका थियौं,' विज्ञान सचिव रामहरि अर्यालले त्यसबेला भनेका थिए । 'त्यसबेला सरकारबाट पाएको २० लाख रुपैयाँबाट थप परीक्षा दिएर उत्तीर्ण भएपछि अमेरिकी पेटन्ट कार्यालयबाट उड्डयन क्षेत्रमा सर्वथा नौलो आविष्कारका लागि मेरो नाममा पेटेन्ट अधिकार जारी गर्ने निर्णय भएको छ,' रेग्मीले भने, 'अब फेरि एकपटक सरकारको सहयोगको अपेक्षा गरेको छु ।' पेटेन्ट अधिकार माग्दै संसारभरिबाट परेका आवेदन अमेरिकी पेटन्ट था ट्रेडमार्क कार्यालयको वेबसाइट 'युएसपिटिओ डट जिओभी' मा राखिएको छ । यसका लागि आवेदकको दर्ता नम्बर टाइप गर्नुपर्छ । उक्त नम्बर गोप्य हुन्छ ।

रेग्मीले दिएको त्यही नम्बरका आधारमा उनले पाइलटबिनै उडाउन सकिने जहाजका निम्ति आवेदन दिएको, दुइटा परीक्षा उत्तीर्ण गरेको, उनको नाममा पेटेन्ट जारी गर्ने निर्णय गरिएको सबै विवरण हेर्न मिल्छ । उनले दुइटा परीक्षा उत्तीर्ण गरेपछि अमेरिकी सरकारले यससम्बन्धी जानकारी राजपत्रमा प्रकाशित गरेको उक्त वेबसाइटमा छ । दुइटा परीक्षा पास नगरी राजपत्रमा त्यस्तो सूचना नआउने रेग्मीले बताए । विश्व व्यापार संगठनका ज्ञाता पोषराज पाण्डेको भनाइमा 'उड्डयन क्षेत्रमा नेपालीको नाममा पेटेन्ट अधिकार जारी हुनु ठूलो उपलब्धि' हो । 'पेटेन्ट अधिकार लिन सर्वथा नौलो, नवीनतम कदम तथा व्यापारिक प्रयोग र मूल्य गरी तीन चरणको प्रक्रिया पार गर्नुपर्छ,' पाण्डेले भने, 'तेस्रो तहमा कसैको दाबीविरोध नपरे आवेदकलाई २० वर्षसम्मको पेटेन्ट एकाधिकार दिइन्छ ।' रेग्मीको नाममा पेटेन्ट अधिकार आएपछि कसैले उनको आविष्कार नक्कल गर्न पाउँदैन । प्रयोग गर्न पनि रोयल्टी तिर्नुपर्छ ।
अन्तर्राष्ट्रिय बजारमा यस्तो आविष्कारका लागि लाखौं, करोडौं डलर रोयल्टी लिने गरिन्छ । 'पेटेन्ट अधिकार दिइएका सबै आविष्कार व्यापारिक प्रयोगमा आउँछन् भन्ने ग्यारेन्टी भने हुँदैन,' पाण्डेले भने । रेग्मीले १० वर्षअघि नै आफ्नो आविष्कारलाई संसारभरि चिनाउन र त्यसको अधिकार सुरक्षित गर्न अमेरिकी सरकारसमक्ष निवेदन दिएका थिए । तर, आर्थिक तथा अन्य कारण प्रक्रिया अघि बढाउन सकेका थिएनन् । त्यसको पाँच वर्षपछि सन् २००९ मा फेरि निवेदन दिएका उनले दुईटा परीक्षा पास गरेर अस्थायी पेटेन्ट लिएका थिए ।

के हो उनको आविष्कार ?

पाइलटबिना उडाउन सकिने जहाजको सूत्र व्यावसायिक र सैन्य दुवै क्षेत्रमा प्रयोग गर्न मिल्छ । पाइलट बसेर चलाउँदा हुनसक्ने मानवीय त्रुटिका घटना यसले नियन्त्रण गर्छ । यस्तो आविष्कार प्रयोगमा आउँदा जहाज अपहरणको घटना पनि हुन नपाउने रेग्मीले दाबी गरे।

'यो जहाजको सम्पूर्ण नियन्त्रण प्रणाली विमानस्थलको टावरमा हुन्छ,' उनले भने, 'जहाजभित्रको ककपिटमा जुन सफ्टवेयर जडान गरिएको हुन्छ, त्यसलाई विमानस्थलको टावरबाट सोझै नियन्त्रण गर्न सकिन्छ ।' रेग्मीको सूत्र अनुसार यस्तो जहाजमा भौगोलिक अवस्थिति नाप्ने'ग्लोबल पोजिसनिङ सिस्टम' (जिपिएस) जस्तै सफ्टवेयर राखिएको हुन्छ। त्यहीमार्फत जहाजलाई स्वचालित ढंगले निश्चित उचाइ, गति र दिशामा उडाउन सकिने उनले दाबी गरे। 'विमानस्थल टावरको कम्युनिकेसन/नेभिगेसन प्रणाली र जहाजको इनबिल्ट प्रणाली एकअर्कामा रेस्पोन्स गराएपछि बिनापाइलट जहाज उड्छ,' उनले भने।

अमेरिकी सरकार व्यापार साझेदार
अमेरिकी सरकारले पनि आफ्नो आविष्कारका लागि 'व्यापार साझेदार' बनाइसकेको रेग्मीले दाबी गरेका छन्। उनको आविष्कारअनुसार अमेरिकाले  सूत्र प्रयोगमा ल्याए आफूले रोयल्टी पाउने उनले बताए। सात वर्षयता उनले अमेरिकासँग व्यापार साझेदार प्रमाणपत्र नवीकरण गराइरहेका छन्।

उनका अनुसार पेटेन्ट अधिकार नपाउँदै चार प्रतिष्ठित कम्पनीले आफ्नो आविष्कारमा रुचि देखाएको रेग्मीले बताए। त्यसबेला तीन जहाज उत्पादक कम्पनी अमेरिकाको बोइङ र रेथन तथा युरोपको एयरबस एवं विश्वप्रसिद्ध कम्प्युटर सफ्टवेयर उत्पादक माइक्रोसफ्ट कर्पोरेसनले आफूसँग काम गर्न प्रस्ताव गरेका थिए।

तर, हालै उनका छोरा गम्भीर अस्वस्थ भएका कारण थप उपचारका लागि नयाँदिल्ली लानुपर्ने भएपछि रेग्मीले एयरबस र माइक्रोसफ्टलाई ५–५ लाख डलर सहयोग माग्दै इमेल गरेका थिए। 'तर तीन दिनसम्म पनि जवाफ नआएपछि एयरबससँग साझेदारी नगर्ने निर्णय गर्दै इमेल पठाएँ,' उनले भने, 'फेरि एयरबसले एकपटक सोच्न भने पनि निर्णय गरिसकेको जानकारी दिएँ।'

उनले 'मनको आदेशमा चल्ने कम्प्युटर' आविष्कारको पेटेन्ट अधिकार लिन पनि आवेदन दिएका थिए। त्यसमा माइक्रोसफ्टले उनीसँग साझेदारी गर्ने प्रस्ताव गरेको थियो। आर्थिक अभावका कारण यो आविष्कारलाई भने अन्य अन्तर्राष्ट्रिय कम्पनीमार्फत अगाडि बढाउने उनको योजना छ।

को हुन् रेग्मी?
रेग्मी सन् १९९३ अप्रिलदेखि २००५ मेसम्म नेपाल वायुसेवा निगममा वरिष्ठ एभियोनिक्स प्राविधिक थिए। त्यसअघि एक वर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणमा रेडियो इन्जिनियरिङ विभागमा काम गरेका उनले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इलेक्ट्रोनिक्स इन्जिनियरिङमा स्नातक, सिक्किम मणिपाल विश्वविद्यालयबाट सूचना प्रविधिमा एक वर्षे पोस्टग्रा्यजुएट डिप्लोमा गरेका छन् ।

साभार: हम्रोहिमाल