यदि तपाईलाई र अरुलाई पनि भविष्यमा काम लाग्ने त्यस्तो केहि सुचना मूलक जानकारी छ भने त्यसको लिंक हाम्रो Facebook Page वा einfonewsnpl@gmail.com मा पठाउनुहोला त्यसलाई हाम्रो यो Web Site मा समावेस गर्नेछौ । धन्यवाद !
Home » , » 'बाह्रै महिना हरियो तरकारी'

'बाह्रै महिना हरियो तरकारी'

कृषि विभागले मुलुकभर बाह्रै महिना हरियो तरकारी खाने अवस्था सुरु भएको दाबी गरेको छ। गत आर्थिक वर्षमा भएका उपलब्धिबारे विभागबाट खटाइएका ५ जना सहसचिवहरूको सुपरीवेक्षणको प्रतिवेदनले उक्त सम्भावना देखाएको हो। 'प्रायः अब सबै नेपालीले वर्षैभरि हरियो तरकारी खान पाउने अवस्था सुरु भएको छ। यो कृषि क्षेत्रमा भएको राष्ट्रियस्तरको उत्कृष्ट कार्य हो,' मंगलबार आयोजित आर्थिक वर्ष २०७०/०७१ को समीक्षा बैठकमा सहसचिव डिलाराम भण्डारीले भने। गत वर्ष ५ अर्ब ३३ करोड बजेट पाएको विभागका ७५ वटै जिल्ला कार्यालय, फार्म केन्द्र, कार्यक्रम, आयोजना र क्षेत्रीय कार्यालयको सुपरीवेक्षण गरेको सहसचिवको टोलीले प्रायः सबै नेपालीले तरकारी खाने अवस्था ल्याउने परिवर्तनकारी कार्य प्लास्टिक घर र टनेल हाउस प्रविधिले गरेको निष्कर्ष निकालेको छ।

कृषि क्षेत्रमा कार्यरत सबैको गर्वको विषय भन्दै सहसचिव डिलाराम भण्डारीले प्लास्टिक घर र टनेल हाउस प्रविधि देशभर विस्तार भएको बताए। यो प्रविधि अपनाउँदै आएका किसानहरूले बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन्। सर्वेक्षणले गएको आर्थिक वर्ष देशभर ९५ लाख ६२ हजार टन खाद्यान्न उत्पादन भएको भनेको छ। पूर्वाञ्चल क्षेत्रमा अलैंची खेतीमा किसानहरू आकषिर्त भएको सर्वेक्षण प्रतिवदेनले भनेको छ। १ सय २० हेक्टर क्षेत्रमा अलैंची बगान स्थापना भएको जनाउँदै विभागले ६० वटा नयाँ नर्सरी स्थापना भएको बताएको छ। मध्य क्षेत्र यान्त्रीकरणमा अघि बढेको छ।

मध्य क्षेत्रका सबै जिल्लामा ३ हजार १ सय २९ थ्रेसर, २ हजार ७ सय ७४ ट्याक्टर, पावर तथा मिनी टिलरलगायत यन्त्र छन्। किसानहरूले परम्परागत उपकरण र पशुको प्रयोग घटाउँदै लगेको देखिन्छ। विभागले यस क्षेत्रमा अनुदानबाट मात्रै १३ हजार कृषि औजार वितरण गरेको दाबी गरेको छ। त्यसैगरी मध्य क्षेत्रमा आलुको ट्यागिङ र प्याकेजिङ हुन थालेको छ। सिन्धुपाल्चोकको मुडेको आलु उत्पादन गर्ने व्यवसायीहरूले थालेको यस कार्यलाई पनि विभागले उत्कृष्ट कार्य भनेको छ।
प्रतिवेदनअनुसार यसरी ६० हजार टन हिउँदे आलु बजारमा गई ९५ करोड आम्दानी किसानले गरेका छन्। त्यसैगरी गत वर्ष त्यहाँका किसान र व्यवसायीले करिब ३ करोड ५० लाख रुपैयाँको बर्खे आलु बिक्री गरेका छन्।

साभार : कान्तिपुर 
प्रकाशित मिति: २०७१ भाद्र ४