सर्वसाधारणलाई कृषि गतिविधिका बारेमा जानकारी दिने उद्देश्यले सञ्चालन हुन लागेको उक्त टेलिभिजन नेपालको पहिलो कृषि टेलिभिजन हो ।
ललितपुरको कुमारीपाटीबाट प्रसारण हुने सो टेलिभिजनले ‘किसानको सम्मान, स्वाभिमान, राष्ट्र निर्माण र आर्थिक समृद्धिका लागि कृषिको विकास हाम्रो अभियान’ भन्ने मूल उद्देश्य लिएको छ ।
कृषि, भूमि, जलस्रोत, वन, पशुपक्षी, सिचाइ, कृषि शिक्षा, स्वास्थ्य, कृषि पर्यटन, वातावरण, उपभोक्ता, मनोरञ्जनलगायत कृषिसँग प्रत्यक्ष अप्रत्यक्ष सरोकार राख्ने मुद्दालाई समाचार बनाउने अभिप्रायबाट कृषि टेलिभिजन नेटवर्कको स्थापना गरेको अध्यक्ष तेजविक्रम थापाले शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए ।
नेपालको पहिलो टेलिभिजन नेपाल टेलिभिजन हो । उक्त टेलिभिजनको स्थापना २०४२ सालमा भएको थियो । तर, कृषि गतिविधिका समाचार सम्प्रेषण गर्ने अठोटले स्थापित यस टेलिभिजनले किसान वर्गमा उत्साह आउने विश्वास सञ्चालकले लिएका छन् ।
नेपाल कृषि प्रधान देश हो । झन्डै ६७ प्रतिशत जनता कृषि पेसामा आबद्ध छन् । खेती गर्ने युवा जनशक्ति विदेश पलायन हुँदैछन् भने खेतीयोग्य जमिन घडेरीमा परिणत हुँदैछ । परम्परागत ढङ्गले चलेको कृषिमा सयौं कठिनाइ छन् । मल, बीउ र प्रविधिको अभावमा लागत अनुरुपको मूल्य प्राप्त हुन सकेको छैन ।
कृषि, भूमि, जलस्रोत, वन, पशुपन्छी, सिंचाई, कृषि शिक्षा, कृषि स्वास्थ्य, कृषि पर्यटन, वातावरण, उपभोक्तालगायतका बिषयबस्तु उक्त टेलिभिजनमा समावेश गरिएका छन् । आइतबारदेखि परिक्षण प्रशारण हुने उक्त टेलिभिजनको तिहारपछि पूर्ण प्रशारणमा आउनेछ । पहिलो चरणमा केवुल नेटवर्कबाट प्रशारण हुन लागेको उक्त टेलिभिजन तिहारपछि सैटेलाइट प्रविधिबाट मुलुकभर प्रशारणमा आउनेछ । साथै स्मार्टफोन मार्फत विश्वको जुनसुकै स्थानबाट पनि हेर्न सकिने छ । यसका लागि स्मार्टफोनमा नेपाली च्यानल एफ डाउनलोड गरि कृषि टेलिभिजन हेर्न सकिने छ ।
‘कृषिमा राज्यको लगानी धेरै भएपनि प्रतिफल शुन्य अवस्थामा छ’, टेलिभिजनका अध्यक्ष थापाले भने,‘नीतिगत सूचनाहरु ग्रामिण भेगका किसानको जानकारीमा आउदैंन् । सिंहदरबारमा शहरिया किसानको पहुँच भएपनि बास्तविक किसानको पहुँच छैंन् । ग्रामिण भेगका किसानलाई वास्तविक सूचना उपलब्ध गराई नीतिगत रुपमा उनीहरुलाई माथि उठाउन कृषि टेलिभिजन ल्याएका छौं ।’ टेलिभिजनले अहिले १० घण्टासम्म प्रशारण गर्नेछ । केही समयपछि दैनिक १८ घण्टासम्म कृषिका बिषयबस्तु प्रशारण गरिनेछ । कूल साढे दुई करोड रुपैयाँको लगानीमो उक्त टेलिभिजन सुरु गरिएको हो ।
कृषि पत्रकार प्रतिष्ठानका महासचिव गोविन्द शर्माले राज्यले अनुदान, बिमा, कृषिमा यान्त्रिकीकरण गरेको छ तर सो सुविधा प्राप्तिका लागि किसानले आवश्यकता महसुस गर्न नसकेको बताए । रासस
0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ ।
धन्यवाद !