हरेक वर्ष किसान सरकारको अनुदान तथा राहतको प्रतिक्षामा बस्नुपर्छ के यसको समाधान छैन र ?
महँगो रासायनिक मलखाद तथा किटनाशकको लागि किसान चर्को व्याजमा ऋण लिनुपर्ने बाध्यता छ के यसको विकल्प छैन र ?
आज म तपाईहरुलाई यो पोस्ट मार्फत माथिका समस्याका समाधान तथा विकल्पका उपायबारे जानकारी उपलब्ध गराई सहयोग गर्नेछु ।
किसानको खेति गर्दाको मुख्य खर्च भनेको रासायनिक मलखाद र किटनाशक औषधि नै हो, जसको लागि महँगो ब्याजमा ऋण लिनेगर्दछन जसले गर्दा किसानहरुलाई ऋणको भार बढ्दै गैरहेको छ । जसअनुरुप उत्पादन भने बढेको छैन जसले गर्दा किसान निराश, चिन्तित तथा भुकमरीको शिकार बनेका छन् । खेती गर्नकालागि किसानले आफ्नो खेतमा यूरिया, DAP, Superphosphate जस्ता मलखाद र एंडोसल्फान ,मेलाथ्यान आदि जस्ता किटनाशक औषधिको प्रयोग गर्दछन । यो सम्पूर्ण विदेशी कम्पनीको उत्पादन हो जसको खरिदको लागि किसानको पैसा लुटिन्छ र देशको ठुलो धनराशी बाहिरिन्छ ।
भारतको कर्नाटक, महाराष्ट्रमा, छतिसगढका हजारौं किसानले रासायनिक मलखाद छोडेर अहिले गाईभैंसीको गोबर हाल्न थालेका छन् । जसको प्रयोगले उत्पादन र गुणस्तरमा राम्रो उन्नति हात पारेका छन् । जुन खेतमा रासायनिक मलखादबाट एक बिघामा ६-८ मेट्रिकटन उखु हुन्थियो आज त्यो खेतमा २४-२६ मेट्रिकटन उत्पादन भएको छ । जुन खेतमा रासायनिक मलखादबाट एक बिघामा ४ क्विन्टल गहुँ उत्पादन हुन्थियो अहिले त्यो खेतमा ६-७ क्विन्टल उत्पादन भैरहेकोछ । त्यस्तै नेपालको झापामा पनि केहि किसानले प्रयोग गर्न सुरु गरेका छन् ।
खेतमा जैविक मलखाद हाल्नाले के हुन्छ त ?
वास्तवमा गोबर पनि धेरै जसो जीवजन्तु, किराको भोजन (आहार) हो भने रासायनिक मलखाद जहर हो । तपाइको खेतमा यस्तो एउटा जीव हुन्छ जसलाई हामीले गड्यौला हुन्छ । अब उदाहरणको लागि एउटा गड्यौलालाइ समातेर त्यसको माथि अलिकति रासायनिक मल हाल्नुस् र हेर्नुस् त के हुन्छ अब त्यो गड्यौला तड्पिन थाल्छ र एकैछिनमा मर्छ भने हामीले क्विन्टलका क्विन्टल रासायनिक मलखाद हालेर करोडौं गड्यौला मारिरहेका छौं ।
गड्यौलाले हाम्रो खेतमा के गर्छ त ?
गड्यौलाले हाम्रो खेतको माटोलाई नरम तथा खुकुलो बनाउने काम गर्छ । गड्यौलाको काम हो माथिबाट तल जाने र तलबाट माथि आउने एक दिनमा एउटा गड्यौलाले ३-४ पटक सम्म तलमाथि गर्छ । जब गड्यौला तल जान्छ एउटा बाटो (छिद्र) बनाएर जान्छ भने माथि आउँदा अर्कै बाटो(छिद्र) बनाएर आउँछ । यसबाट के हुन्छ त भन्दा यसरि गड्यौला तलमाथि गर्दा सानो सानो छिद्र तयार हुन्छ र वर्षाको पानी यहि छिद्र हुँदै जमिनको भित्रीभागमा पुगि जमाहुन्छ । यसको अर्थ Water Recharging को काम गर्ने सारा संसारमा गड्यौला मात्र एउटा जीव हो जो रासायनिक मलखादका कारणले मर्दछ । तसर्थ रासायनिक मलखाद हाल्नुको मतलब किसानले आत्महत्या गर्नु सरह हो । जुन किसानले खेतमा रासायनिक मलखाद हाल्छ त्यसको खेतमा रहेको गड्यौला मर्छ यदि गड्यौला मर्यो भने खेतको माटो तलमाथि हुन पाउँदैन खेतको माटो तलमाथि भएन भने माटो कडा बन्दै जान्छ जसले गर्दा उत्पादन मा ह्रास आउँछ ।
के हो माटो उल्टोपुल्टो भनेको ?
जसरि रोटी पकाउँदा उल्टोपुल्टो गरि पकाउँछौं त्यसरी नै खेति गर्दा माटो पनि उल्टोपुल्टो गर्नु पर्छ । रोटी उल्टोपुल्टो गरिएन भने डढछ, माटो उल्टोपुल्टो गरिएन भने माटो कडा भै ढुंगा जस्तो हुदैं जान्छ । जुन काम गड्यौलाले मात्र गर्दछ, त्यसैले गड्यौला किसानको सबै भन्दा राम्रो साथी हो । एउटा गड्यौलाले एक वर्षमा ३६ मेट्रिकटन माटोलाइ उल्टोपुल्टो बनाउँछ यतिनै माटो ट्याक्टरले गरेमा १०० लिटर डिजल लाग्छ १०० लिटर डिजल रु.८० को दरले हिसाब गर्ने हो भने रु.८,००० हुन आउँछ यसको अर्थ एउटा गड्यौलाले किसानको वर्षमा रु.८,००० को वचत गराउँछ भने यस्ता करोडौं गड्यौलाले किसानको र देशको कति पैसा वचत गर्न मदत गर्छ सोचौं त ?
जैविक मलखाद हाल्नाले के हुन्छ ?
रासायनिक मलखाद हाल्नाले गड्यौला मर्छ भने गोबरको मलखाद हाल्नाले गड्यौला भोजन प्राप्त गरि बाँच्छ र आफ्नो जनसंख्या तिब्र रुपले बढाउँछ । गड्यौलाको प्रजनन क्षमता यति धेरै हुन्छ कि एउटा गड्यौलाले आफ्नो जीवनमा ५० हजार बच्चा जन्माउँछ कुनै कुनै प्रजातिले त १ लाख सम्म बच्चा जन्माउँछ । अब आफै बिचार गर्नुस् त एउटा गड्यौलाले १ लाख बच्चा जन्माउँछ भने ति १ लाखले १ लाखको दरले जन्माउँदा कति पुग्छ । र यो क्रम यहि रुपमा अगाडी बढे के हुन्छ यदि जैविक मलखाद हाल्नु भयो भने ।
कसरी बनाउने त जैविक मलखाद ?
प्राय किसानहरुले घुर फोहोर फाल्ने ठाउँमा गोबर जम्मा गर्ने गर्छन र पुरा वर्षभरि घाममा राखेर सुकाउँछन् जसले गर्दा गोबरमा हुने उत्पादकत्व शक्ति हराएर जान्छ र त्यो गोबरले कुनै लाभ दिदैन । त्यसैले गोबरलाई जहिले पनि चिसो(ताजा) मै हाल्नुपर्छ । जैविक मलखाद बनाउने तरिका निम्नानुसार छ ।
यो एक बिघा खेतको लागि तयार गरेको फर्मुला हो ।
एउटा प्लास्टिकको ड्रममा तल दिइएको पांच चिजलाई एक आपसमा राम्ररी मिलाउने(घोल्ने) ।
# ५ किलो गोबर (लोकल गाई, गोरु वा भैंसीको)
# ५ लिटर मुत्र (लोकल गाई, गोरु वा भैंसीको)
# १/२ (आधा) किलो भेली(गुँड) (खाना योग्य नभएको सडेगलेको जस्तो भए पनि हुन्छ)
# १/२ (आधा) किलो दाल वा चोकर (खान योग्य नभएको जस्तो भए पनि हुन्छ)
# १ किलो पुरानो पिपल वा बरको फेदको माटो ( पिपल र बरको रुखले २४ घण्टानै अक्सिजन निकाल्छ जसमा जीवाणुको संख्या धेरै हुन्छ जुन खेतको लागि अत्यन्तै उपयोगी हुन्छ)
यो पांच चिजलाई एक आपसमा राम्ररी मिलाउने । यदि मिलाउन अलि गाह्रो भयो भने अलिकति पानी हालेर घोल बनाउने । अब यो घोललाइ १५ दिन सम्म छाँयामा राख्ने (रुखको छाँयामा राख्दा राम्रो) ख्याल राख्नु कि घाम पर्न हुँदैन । प्रत्यक दिन बिहान र साँझ एक पटक मिलाउने(घोल्ने) । १५ दिन पछि यो मलखाद प्रयोगको लागि तयार हुन्छ । अब यसमा करोडौं करोड सुक्ष्म जीवाणु छन् जुन माटो हामीले हालेको थियौं त्यसमा रहेको जीवाणुले आफ्नो संख्या बढाएको हो । जुन दिन हामीले माटो राखेको थियौं यदि त्यो दिन जीवाणुको संख्या १ लाख थियो भने अहिले(१५ दिनमा) त्यसको संख्या बढेर १ करोड भन्दा बढी पुग्यो ।
अब यो जीवाणु मलखाद(घोल) लाई खेतमा हाल्नु भन्दा पहिला पानी मिसाउनु पर्छ । पानी मिसाउँदा गोबरको मात्राको १० गुणा मिसाउने ५ किलो गोबर थियो भने ५० लिटर पानी मिसाउने । पानी मिसाएपछि यो पूर्ण रुपले तयार भयो अब यसलाई १ बिघा खेतमा छर्नुपर्छ । जसरि धुलो नउडोस भनेर पानी छर्किन्छौँ त्यसरी नै छर्कने सबै तिर पुग्ने गरि । जब यो जीवाणु खेतको माटोमा पुग्छन तब आफ्नो काम गर्न सुरु गर्छन ।
जीवाणुले खेतमा के काम गर्छन त ?
विरुवाको जरालाई नाइट्रोजन चाहियो भने यो जीवाणुले उपलब्ध गराउँछ ।
विरुवाको जरालाई क्याल्सियम चाहियो भने यो जीवाणुले उपलब्ध गराउँछ ।
विरुवाको जरालाई आइरन चाहियो भने यो जीवाणुले उपलब्ध गराउँछ ।
त्यस्तै विरुवालाई चाहिने जति पनि सुक्ष्म तत्व छन् सबै यो जीवाणुले उपलब्ध गराउँछ । त्यति मात्र होइन हामीलाई चाहिने तत्व पनि फलको माध्यमबाट हामीलाई उपलब्ध गराउँछ । जुन विरुवाले जीवाणु धेरै पाउँछ त्यो छिटो हुर्किन्छ र फल पनि धेरै दिन्छ जसले गर्दा उत्पादन धेरै हुन्छ ।
जैविक मलखाद हाल्ने समय
अब यो मलखाद हाल्ने समयको राम्ररी ख्याल गर्नुहोस् कि कहिले कहिले हाल्ने भनेर । सबै भन्दा राम्रो तरिका भनेको बिउ छर्नु अगाडी खेत जोत्नु भन्दा १ दिन अगाडी छर्कने ।
बिउ छरेको २१ दिनमा फेरी दोस्रो पटक छर्कने । र हरेक २१ दिनमा छार्किदै गर्ने । यसरी यदि ४ महिनामा त्यो बाली तयार हुन्छ भने ५ पटक जीवाणु मलखाद हाल्न पर्यो ।
जैविक मलखाद हाल्ने विधि:
जैविक मलखाद हाल्ने ४ वटा विधि छन् ति हुन्
१) एउटा बाल्टीमा हालेर सानो डब्बाले छर्कने
२) दोस्रो तरिका भनेको खेतमा सिंचाइको पानी लगाउँदा आलीबाट खेतमा जाने ठाउँमा सानो ड्रम राखेर टुटीधारा बाट थोपा थोपा झारेर छर्न सकिन्छ ।
३) यदि तपाइकोमा जनावर धेरै छन् र गोबर पनि धेरै छ भने १५ दिनमा तयार भएको जीवाणु घोलमा भएको गोबर हालेर १०० लिटर पानी हालेर लड्डु जस्तो गोलो गोलो बनाएर खेतमा छर्न सक्नुहुन्छ ।
४) खेतको माटो खनेर १५ दिनमा तयार भएको घोललाइ माटोमा मिसाएर सानो सानो लड्डु आकारको गोलो बनाइ खेतको चारैतिर फाल्ने ।
यसरि सुन्य लागतको मलखाद तयार भयो कसरीभने गोबर र मुत्र गाईवस्तुको, भेली(गुँड/सक्खर) बेच्ने ठाउँबाट फालिएको ल्याए पनि भयो, यदि खेतीपाती गर्ने किसान हो भने दाल पनि सित्तैको जस्तो भयो र माटो जताततै पाइन्छ । तर गुणस्तरको कुरा गर्ने हो भने जबर्दस्त छ किनभने यसमा क्याल्सियम, आइरन, म्याग्नेसियम, नाइट्रोजन आदि जस्ता १८ किसिमका पोषक तत्व प्रचुर मात्रामा पाइन्छ, यी पोषक तत्व नै खानाको माध्यमबाट हाम्रो शरीरमा जान्छ र हामी बलियो स्वस्थ हुन्छौँ । जुन रासायनिक मलखादमा पाइन्दैन । अब किसानहरुले सम्झनु पर्यो कि जैविक मलखाद नै आफ्नो खेतमा प्रयोग गर्ने जसको खर्च शुन्य छ । यदि उत्पादनको कुरा गर्ने हो भने पहिलो वर्ष रासायनिक मलखाद प्रयोग गर्दाको भन्दा कम भयो भने पनि त्यो मलखादमा हाल्ने पैसा त वचत भएको छ नि त्यसैले बराबर गराउँछ भने हरेक वर्ष उत्पादन बिस्तारै बढ्दै जान्छ र १०-१२ वर्षमा रासायनिक मलखादको तुलनामा दोब्बर उत्पादन हुन्छ । तर एउटै कुराको ध्यान दिनुहोला जैविक मलखादमा प्रयोग गर्ने गोबर केवल लोकल गाईवस्तुको हुनुपर्छ विदेशी जर्सी गाईको गोबरबाट लाभ मिल्दैन ।
जैविक किटनाशक औषधि
जैविक मलखाद मात्र हालेर पूर्ण रुपमा अर्गानिक हुँदैन किनभने जुन बलि लगाए पनि त्यसमा किरा नलाग्ने भन्ने हुँदैन र त्यो किरा मर्न रासायनिक किटनाशक औषधि प्रयोग गरियो भने अर्गानिक बाली प्राप्त हुँदैन तसर्थ जैविक किटनाशक औषधि कसरी बनाउने भन्नेबारे जानकारी दिन गैरहेको छु ।
जैविक किटनाशक औषधि १ बिघा खेतको लागि बनाउनका लागि निम्नानुसार चिज आवश्यक पर्दछ ।
१) ८ लिटर मुत्र (लोकल गाई, गोरु वा भैंसीको)
२) १ किलो पिसेको निमको पात
३) १ किलो पिसेको सिताफलको पात
४) १ किलो पिसेको आँकको पात
५) १ किलो पिसेको धतुरोको पात
६) १ किलो पिसेको बेलको पात
७) १००-१५० ग्राम पिसेको पिरो रातो खुर्सानी
८) २०० ग्राम पिसेको लसुन र अर्को महत्वपुर्ण कुरा तपाइको छेउछाउमा रहेको झारपात जुन गाईवस्तुले खाँदैनन त्यो सबै हालेर खुब उमाल्नुहोस । अब त्यो उम्लेको झोललाइ चिसो भएपछी छानेर भाँडा वा जर्किनमा राख्नुहोस । जब खेतको बालीमा किरा लाग्छ तब यसमा ८० लिटर पानी मिसाएर छर्कीदिनुहोस् । छर्केको दिनमा नै बालीमा लागेका सबै किराहरु मर्छन । जसको लागि बजार बाट केहि किन्न नि परेन पैसा पनि खर्च भएन सजिलै आफ्नो घरमा बनाउन सकियो ।
किसानहरुले यो शुन्य लागत जैविक मलखाद तथा किटनाशक औषधि प्रयोग गरि आफ्नो पैसाको वचत गरि देशको ठुलो धनराशी विदेशीनबाट जोगाउनुहोस् । जसले गर्दा तपाइले चर्को व्याजमा ऋण लिन पर्दैन र अतिरिक्त आर्थिक भारको बोझ तपाई किसानहरु माथि पर्दैन ।
शुन्य लागत जैविक मलखादद्वारा खेति गर्दा केहि समस्या आइपरेमा नेपाल र भारतमा रहेका किसान (जुन तल दिएकोछ) फोन नम्बरमा सम्पर्क राखी आवस्यक जानकारी तथा सल्लाह सुझाव लिन सक्नुहुन्छ ।
डिल्ली खतिवडा :- ९८४२७१९०८८ नेपाल
अमित आनंद :- +९१-८०९००१२३४९ भारत
माधव राव :- +९१-९८६६५४८२७८ भारत
सचिन शिंदे :- +९१-९९२२४१९३३४ भारत
युट्युब लिंक :- https://www.youtube.com/watch?v=XAdAP7DGh1U
युट्युब लिंक :- https://www.youtube.com/watch?v=cab-PNqho4I
0 comments :
Post a Comment
कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ ।
धन्यवाद !