यदि तपाईलाई र अरुलाई पनि भविष्यमा काम लाग्ने त्यस्तो केहि सुचना मूलक जानकारी छ भने त्यसको लिंक हाम्रो Facebook Page वा einfonewsnpl@gmail.com मा पठाउनुहोला त्यसलाई हाम्रो यो Web Site मा समावेस गर्नेछौ । धन्यवाद !
Home » , » आठ रूपैयाँका ज्यामी बाट, प्रतिभाशाली उद्योगी

आठ रूपैयाँका ज्यामी बाट, प्रतिभाशाली उद्योगी


सुनसरी–मोरङ औद्योगिक क्षेत्रका उद्योगी व्यापारी अधिकांशको परिचय आफ्ना पुर्खा (बाबुबाजे)सँग जोडिन्छ। आफैंले आफ्नो परिचय स्थापित गर्ने उद्योगीको सूची अत्यन्तै न्यून छ यो क्षेत्रमा।
स्व. रामलाल गोल्छाको व्यापारिक जीवनबाट धेरैले पाठ सिकेका छन् यहाँ। गोल्छा विराटनगरमा खाली खुट्टा हिँड्थे। सानो व्यवसाय सुरू गरेर उनले आफ्नो परिचय देशलाई चिनाए।
जुट संकलन गरेर, धान संकलन गरेर व्यवसाय सुरू गरेका उनी सफल उद्योगपतिमात्र भएनन्, उनको नेतृत्वमा स्थापित भएको गोल्छा अर्गनाइजेशन अहिले नेपालको एउटा ठूलो व्यापारिक घराना बनेको छ।

गोल्छाका साखासन्तान प्रतिष्ठित उद्योगपति सूचीकृत छन्।
***
सुनसरी–मोरङ सिञ्चाई आयोजनाको नहर त्यतिबेला बन्न थालेको थिएन भने सायद भीम घिमिरेको परिचय आज गुमनाम हुन्थ्यो होला। साधारण परिवारमा हुर्किएका घिमिरे सिञ्चाई आयोजनाको नहर बन्दा श्रमिक भएर छिरेका थिए। बेल्चा चलाउने, सिमेन्ट बोक्ने ज्यामी उनै घिमिरे अहिले सफल युवा उद्योगीको रूपमा परिचित छन्।

‘संघर्ष गर्ने इच्छाशक्ति र धैर्यता अपनाउन सकियो भने साधारण किसानको छोरो पनि सफल उद्योगी बन्न सक्दोरहेछ,’ सेतोपाटीले समय लिँदा उनी आफ्नो उद्यमशीलताबारे खुल्न अफ्ठेरो मानिरहेका थिए, ‘अझै धेरैथोक गर्न बाँकी नै छ, मेरो परिचय पूर्ण बनिसकेको छैन।’
उद्यमीदेखि सामाजिक क्रियाकलापको नेतृत्वपंक्तिमा रहेर संघर्ष गर्दा उनले धेरै भोगेका छन्, देखेका छन्, अनुभव हासिल गरेका छन्। उनीद्धारा स्थापित उद्योगमा अहिले सयौंले रोजगारी पाएका छन्, आफूले रोजगारी दिएका मजदुर र कर्मचारी देख्ता उनी आफ्नो विगत सम्झिन्छन्।

‘मैले अरूलाई सधैं भन्नेगर्छु कि तपाईं एउटा जागिरमात्र खाएर आफ्नो सिर्जनशीलतालाई साँघुरो नपार्नूस्,’ उनी भन्छन्, ‘सानोतिनो, जस्तोसुकै सानो व्यवसाय गर्ने हिम्मत गरे जीवन सफल हुन्छ।’
***
उदयपुर फलाँटे गाविसमा २०२३ सालमा घिमिरेको जन्म भएको थियो। खोटाङ चुइचुम्बा गाविसका गरिब किसान उनका बाबुआमा उदयपुर आइपुग्दा उनको जन्म भएको रहेछ।

जन्मिनेवित्तिकै बाबुआमा उदयपुरबाट सुनसरी चक्रघट्टी बसाइँ सरेका रहेछन्।

गाउँकै बसन्तऋतु प्राथमिक विद्यालयमा उनको पढाइ सुरू भयो। माध्यमिक शिक्षाका लागि टाढा जानुपरेन, चक्रघट्टीकै महेन्द्र माध्यमिक विद्यालय थियो।

२०४० सालमा एसएलसी दिए। यतिबेलासम्ममा घरको दुःख बुझिसकेका घिमिरेलाई केही काम नगरी फगत बस्न मन लागेन।

सुनसरी मोरङ सिञ्चाई आयोजनाको नहर खन्ने काम चताराधाममा सुरू भइरहेको थियो। चिनियाँ कम्पनी सीडब्लूईले नहर खन्ने ठेक्का लिएको रहेछ।

काम खोज्ने सिलसिलामा उनी नहर पुगेछन्।

भर्खर एसएलसी दिएको व्यक्ति, कुनै आयोजनाका निमिक्त काम गर्ने अनुभव हासिल भइसकेको थिएन।

‘नहर खन्नका लागि ज्यामी आवश्यक रहेछ,’ उनले आफ्नो श्रमिक जीवनबारे खुलाए, ‘म बेल्चा चलाउने र सिमेन्ट बोक्ने काम गर्न थालें।’

एउटा श्रमिकको दैनिक ज्याला त्यतिबेला सात रूपैयाँ रहेछ। उनी आठ रूपैयाँका ज्यालादारी श्रमिक भएर छिरे।
...

श्रमिक भएर छिरेको तीन दिनमात्रै बितेको थियो। चिनियाँ कम्पनीले उनलाई सुपरभाइजरको जिम्मेवारी दिएछ। तीन दिनको फरकमा उनले दैनिक १२ रूपैयाँ पाउन थाले।

सुपरभाइजरको काम गर्दागर्दै एसएलसी रिजल्ट आयो। सेकेन्ड डिभिजन ल्याए।

रिजल्ट आएपछि कहाँ पढ्ने उनलाई समस्या प¥यो। उच्च शिक्षा हासिल गर्न उनले विराटनगर महेन्द्र मोरङ क्याम्पस आउनुपर्ने भयो।

चिनियाँ कम्पनी छोड्ने तयारी गर्दैथिए, तर उक्त कम्पनीले उनलाई जागिर छोड्न दिएन। बरू त्यही कम्पनीको गाडीले उनलाई कलेज छोड्ने, घर पु¥याइदिने ग¥यो।

‘डेरा बस्नुनपर्ने, गाडीले नै ल्याउने पु¥याउने गरेपछि जागिरलाई निरन्तरता दिन सजिलो भयो,’ उनी भन्छन्, ‘आइकम पास गरूञ्जेल उसले सहयोग गरिरह्यो।’

यतिञ्जेलमा त उनले एउटा जागिरका लागि योग्यता हासिल गरिसकेका रहेछन्।

बिकम सुरू गर्नलाग्दा उनलाई त्यही कम्पनीले ‘दोभाषे’ नियुक्ति गरेछ। चिनियाँहरूको दोभाषे भएर काम थाले।
***
२०४४ सालतिरको कुरा हो।
औद्योगिक घराना वैद्य गु्रपसँग सीडब्लूई कम्पनीको सम्बन्ध जोडिन पुग्यो। दुबैको लगानीमा मोरङको टंकिसिनुवारीमा इँटा उद्योग खोल्ने सम्झौता भयो।
चिनियाँ कम्पनीमा निकै योगदान गरिसकेका घिमिरेको नाम त्यहाँ सिफारिस भयो। उनलाई १३ जना चिनियाँ प्राविधिकको नेतृत्व दिएर सीडब्लूई कम्पनीले टंकीसिनुवारी पठाइदियो। उनी आफू पढ्दै उक्त कम्पनीमा काम गरिरहेका थिए, बस्नका लागि कम्पनीले निवास दिएको थियो।

जिम्मेवारी बढ्दै जाँदा उनले अलिअलि पैसा पनि बचत गरेका रहेछन्। वैद्य ग्रुपका डा. गजानन्द वैद्यको सहयोगमा विराटनगर–६ मा उनले घर बनाए।

व्यापारिक लाइन अलिअलि बुझेका उनलाई उत्साह छुटेर आउन थालेको थियो।

***
२०४८ सालमा। चिनियाँ कम्पनीबाट सिकेको व्यापारिक अनुभव आफ्नै उन्नतिका लागि प्रयोग गर्ने अठोट लिए। घर वाणिज्य बैंकमा राखे। सात लाख रूपैयाँ हात प¥यो। त्यो सात लाखले उनी निर्माण व्यवसाय क्षेत्रमा हाम्फाले। सँगसँगै जग्गाको कारोबार पनि गर्न थाले।
त्यही सिलसिलामा उनले २०५३ सालमा जागिर छोडे। जागिर छोड्नुको एउटै कारण थियो – सिकेको सीप आफ्नो उन्नतिका लागि खर्चिने।
सात÷आठ वर्ष त्यसरी काम गर्दा त्यतिधेरै नाफा त थिएन, तर आफ्नो लागि एउटा छुट्टै व्यवसाय गर्न बाटो खुलिसकेको थियो। २०५६ सालदेखि उनले कोल्डड्रिङ्स सप्लायर्स खोले।

एबी ढुवानी सेवा नामक कोल्डड्रिङ्स राम्रै चलिरहेको थियो।

***
जागिर छोडे पनि चिनियाँ र वैद्य गु्रपले उनलाई बीचमै रोकेछ। सल्लाहकार भएर पनि बस्नुपर्ने अफर आयो।
वैद्य ग्रुपको सल्लाहकार बस्नु नै उनका लागि उद्योगी बन्ने बाटो बनेछ। टोयटा कम्पनीको मोटरको पूर्वाञ्चलमा बिक्रेता कोही थिएन। वैद्य ग्रुपले उनलाई बिना लगानी आधिकारिक बिक्रेता राख्यो।
टोयटाका सयौं गाडी पूर्वमा बिक्री गर्न सफल भए। त्यसबाट मनग्गे आम्दानी भयो।

‘कसैको भाग्यको फैसला उसको इच्छाशक्ति त छँदैछ,’ उनी भन्छन्, ‘सहयोगी हात पनि महत्वपूर्ण बन्दोरहेछ।’

२०५६ सालमा त्यही कम्पनीले सुनसरीको सिमरियामा इँटा कारखाना खोल्ने तयारी ग¥यो। उनी त्यस उद्योगका १२ प्रतिशत लगानीकर्ता भएर छिरे। उनलाई त्यहाँको मेनेजिङ डाइरेक्टरको जिम्मा दिइयो।

‘त्यहीबीचमा पढाइ पूरा भयो,’ घिमिरे भन्छन्, ‘डिग्री पास गरें, एउटा व्यापारिक लाइनमा आफ्नो योग्यता स्थापित भयो।’

***
टोयटा कम्पनीको गाडी बिक्रीको अद्भुत सफलताबाट आर्जेको पैसा र पार्टनरसिपको फाइदा उनलाई भयो। अब भने आफैं उद्योग चलाउँछु भन्ने हिम्मत जुट्यो।

उनले सिमरियामै आफ्नै लगानीमा एबी नामक इँटा उद्योग स्थापना गरे।

२५ लाख रूपैयाँ व्यापारिक कर्जा लिएर इँटा उद्योग खोलेका थिए। अहिले त्यो उद्योगमा सिजनमा तीन सयसम्म श्रमिकले रोजगारी पाएका छन्।

‘अफसिजनमा कम्तीमा ५० जनाले रोजगारी पाएकै छन्,’ घिमिरेले भने।

२०६३ साल सुरू हुँदै थियो। एयरपोर्ट मोडमा एउटा पेट्रोल पम्प थियो। काठमाडौंका व्यापारीले त्यो बेच्न चाहिरहेका थिए। उनले सस्तो मूल्मै त्यो खरिद गर्न पाए। नबिल बैंकबाट थप कर्जा लिएर त्यसलाई मजबुत पारे।

मुनालपथमा रहेको टोयटा गाडीको स्वरुम त्यहीँ सारे। सर्भिसिङ सेन्टर पनि त्यहीँ बनाए।

सर्भिसिङ सेन्टरमा अहिले २० जनाले रोजगारी पाएका छन्, पम्पमा दस जना स्टाफ जागिरे छन्।

‘दुःख, सुख भन्नेकुरा जीवनको पाटो हो,’ व्यापारिक लाइनमा इमानदारितामा विश्वास गर्ने घिमिरे भन्छन्, ‘कालाबजारी, दुई नम्बरी, तस्करी केही नगरी राज्यलाई व्यापारको कर तिर्दा पनि फाइदा हुँदोरहेछ, जो मैले आफ्नो उद्यमशीलतामा देखेको छु।’

कुनैबेला श्रमिक भएर छिरेका घिमिरे अहिले लाखौं÷करोडौंमा खेल्ने उद्योगपति भएका छन्। श्रमिकबाट उद्योगी बन्नेको नाम लिनुपर्दा विराटनगरमा घिमिरे चिनिन्छन्।

‘किसानको छोरो पनि चाह्यो भने उद्योगी बन्छ, त्यही हो मेरो परिचय।’

***
२०५१ सालमा इनरुवामा उनको विवाह भएको थियो। अजिता बरालसँग उनको मागी बिहे भएको थियो। उनका जेठा छोरा अविज्ञा अहिले स्नातह गर्दैछन्। कान्छा छोरा अन्विद प्लस टुको फाइनल परीक्षा दिने तयारी गर्दैछन्।

बुबा मित्रलालको २०६८ सालमा निधन भयो। आमा कक्षरुपा उनको साथमा छिन्।

‘म यसरी सफल हुनुमा श्रीमतीको ठूलो साथसहयोग छ,’ उनी भन्छन्, ‘सँगसँगै असल साथीभाइको सल्लाहसुझाव र सहयोग बिर्सिनसक्नुको छ।’
***
एउटा किसानको छोरोले गरेको प्रगति देखेर विराटनगरका उद्योगपति चकित परेका थिए।

२०५० सालतिरको कुरा हो। विराटनगरमा महेन्द्र गोल्छा प्रतिष्ठित उद्योगपति थिए। श्याम पौडेल, अशोक मुरारका, सुशील धनावत, किशोर प्रधानलगायतले उनलाई साँघुरो घेरामा मात्र बसेर उद्योगपतिको भूमिका निर्वाह हुन्न भनेर सल्लाह दिए।
उद्योग संगठन मोरङ नामको व्यापारिक संगठनका हस्ती थिए उनीहरू। उनीहरूकै सल्लाहमा संगठनमा आवद्ध भए।

२०५२ सालमा विराटनगरमा बृहत महोत्सवको तयारी थियो। राजपरिवारसँग नजिकको सम्बन्ध भएका महेन्द्र गोल्छाले महोत्सवको नेतृत्व गरेका थिए। राजा वीरेन्द्र महोत्सव उद्घाटन गर्न आएका थिए।

घिमिरेलाई स्टल बिक्रीको नेतृत्व दिइएको रहेछ। उनले आफ्नो क्षमता त्यहीँ प्रदर्शन गरे।

‘महोत्सवमा स्टलहरू धेरैभन्दा धेरै बिक्री भए,’ घिमिरे सम्झन्छन्, ‘मेरो क्षमता साथीभाइले त्यहीँ जाँचे।’

***
विगत ११ वर्षदेखि उनी उद्योग संगठनको बोर्डमा छन्। एकपटक उनी संगठनका उपाध्यक्षसमेत भएका थिए।
समय बित्दै जाँदा र नेतृत्व तहसम्म बुझ्दा उनले यो क्षेत्रमा विकृति विसंगतिको उर्लंदो भेल देखेका छन्।
बाहिरबाट हेर्दा व्यापारिक संगठन भए पनि त्यहाँभित्रको अपारदर्शी गतिविधिले उनले भोगेका छन्। सार्वजनिक संगठन होस्, सबैको पहुँच पुगोस् भन्ने भावना राख्ने घिमिरे त्यही कुरा राख्दा घेराबन्दीमा परे।

वर्षअघि उनले उद्योग संगठन छोडेका छन्
‘सार्वजनिक पद दुरूपयोग भएको छ, नेतृत्वको दुरूपयोग भएको छ,’ उनी भन्छन्, ‘नेतृत्वको असीमित चाहना छन्, आफ्नो लागि कानुनविपरीत काम गर्ने, सोर्सफोर्समा सुविधा लुट्ने तर इमानदार र सज्जन उद्योगीको हितमा कहिल्यै केही नगर्ने परिपाटी छ।’

औद्योगिक क्षेत्रले रोजगारीको ठूलो बाटो खोलेको छ। देशको अर्थतन्त्रमा टेवा पु¥याएको छ। कतिपय उद्योगले स्थानीय ‘र’ मेटेरियल प्रयोग गरेका छन्। यसले स्थानीयको जीवनस्तरमा टेवा पनि पु¥याएको छ।

तर सँगसँगै कर छल्ने, तस्करी गर्ने, कानुन मिचेर उद्योग खोल्ने, देशको अर्थनीतिलाई आफ्नो प्रभावमा पार्ने उद्योगपति प्रशस्तै देखेका छन् घिमिरेले।

‘मैले नेतृत्वको दुरूपयोग भनेको यही हो, नेतृत्वमा हुनेले नेता, मन्त्री रिझाएर यहाँ धेरै खेल खेलेका छन्,’ उनी भन्छन्, ‘त्यसैले हो, सुनसरी–मोरङ करिडोर सोचेअनुसार विकास हुन नसकेको, उता वीरगञ्जले कतिधेरै फड्को मारिसकेको छ।’

मुलुकको हित र अर्थतन्त्रको हितका निम्ति काम गर्नेको संख्या दिनानुदिन घट्दा उनलाई चिन्ता लागेको छ।

***
सामाजिक क्षेत्रमा पनि उनी त्यति नै अग्रसर छन्
 सन् १९९० मा विराटनगर जेसिजमा नेतृत्व विकासका लागि भन्दै छिरेका उनले टंकिसिनुवारीमा जेसिजकै भवनसँग सामुदायिक भवन निर्माण गराएका छन्।
बिहे, ब्रतबन्ध इत्यादिका लागि विराटनगर धाउनुपर्ने बाध्यता हटेको अनुभव उनी गर्छन्। त्यही सामुदायिक भवनमा बिहेबटुलो हुने गरेको छ।

सन् १९९९ मा उनी लायन्स क्लबको सदस्य बनेका थिए। लायन्सको विराटनगर अध्यक्ष हुँदै भाइस गभर्नर, फस्ट भाइस गभर्नर र सन् २०१४ मा उनी डिस्ट्रिक गभर्नर भए।

लायन्सको इन्टरनेशनल पंक्तिमा भर्खरै उनी उत्कृष्ट गर्भनर घोषित भएका छन्।

‘लायन्स, जेसिजजस्ता संस्था भनेको हामी आफैंले लगानी गरेर दिनदुखीलाई सहयोग गर्ने संस्था हुन्,’ उनी भन्छन्, ‘कतिपयले यस्ता संस्थालाई बुर्जुवा वर्गका भने पनि त्यस्तो मैले देखेको छैन।’
***
युवा उमेरमै सफल उद्योगी कहलिएका उनी औद्योगिक क्षेत्रमा चन्दा चिठ्ठीले हैरानी पा¥यो भन्ने खबर सुन्दा अचम्मित हुन्छन्। भूमिगत पार्टीदेखि, सिभिलियन पार्टीका नेता, कार्यकर्ता सबै देखेका बुझेका उनले आजसम्म कसैलाई चन्दा दिनुपरेको दिन नआएको दाबी गर्छन्।

‘चन्दा चिठ्ठाका निम्ति छलफल र बहस भयो होला, तर मैले कसैलाई चन्दा दिइनँ,’ उनी भन्छन्, ‘कसैले गैरकानुनी तरिकाले माग्दा दिइहाल्ने प्रवृत्तिले हाम्रो औद्योगिक क्षेत्र दुनियाँको कमाइखाने ठाउँ भइरहेको छ।’

औद्योगिक क्षेत्र, औद्योगिक संघ संगठनलाई सबै सानाठूला व्यापारीको सहज पहुँचको क्षेत्र बनाउनुपर्ने धारणा भएका उनी त्यसका निम्ति पनि संघर्ष गर्दैछन्।

‘मेरो उद्यमशीलता छँदैछ,’ कुराकानीको अन्त्यतिर घिमिरेले भने, ‘निमुखा उद्योगीको भविष्यका निम्ति लड्दैछु।’
साभार: सेतोपाटी

0 comments :

Post a Comment

कृपया Post पढिसकेपछी आफ्नो अमूल्य सल्ला, सुझाब / टिप्पणी दिन नभुल्नुहोला ।
तपाईको सल्ला सुझाबले नै हामीलाई जोश जागर मिल्ने छ र केहि गर्ने हौसला प्राप्त हुनेछ ।
धन्यवाद !